देशमा चर्को लोडसेडिङले नराम्रो प्रभाव पारिरहेको समयमा पहाडी जिल्ला म्याग्दीमा रहेका नदीहरुबाट विद्युत् उत्पादनका लागि लगानीकर्ताहरु आकर्षित भएका छन्। सरकारले निजीक्षेत्रको सहभागितामा २० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बृहत् योजना कार्यान्वयनमा जोड दिइरहेका समयमा म्याग्दीको जलविद्युत् क्षेत्रमा पनि लगानीकर्ताको आकर्षण बढेको हो भन्ने ठम्याई छ ।
भारत सरकारको सहुलियत ऋणमा यसै वर्ष म्याग्दीमा ३० मेगावाट क्षमताको राहुघाट खोला जलविद्युत् परियोजना निर्माण शुरु हुन लागेको छ। ७ अर्ब रुपियाँ लगानी हुने यो आयोजनामा भारतले ५० प्रतिशत रकम अनुदानमा उपलब्ध गराइसकेको छ। कम्पनी छनोट प्रक्रिया चलिरहेकाले यसै वर्षभित्र भौतिक पूर्वाधार निर्माण शुरु गर्ने तयारी भएको आयोजना प्रमुख वृद्धकृष्ण मानन्धरले जानकारी दिनुभयो।
त्यसै गरी निजीक्षेत्रको लगानीमा १ सय ६४ मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत् आयोजना पनि निर्माण प्रक्रियामा प्रवेश गरेको छ। म्याग्दी र मुस्ताङको सिमानामा कालिगण्डकी नदीमा बाँध बाँधेर म्याग्दीको नारच्याङमा विद्युत् गृह बनाइने आयोजना सार्वजनिक खरिद प्रकि्रयामा प्रवेश गरेको निर्माण कम्पनी हाइड्रो सोलुसनले जनाएको छ। कम्पनीका अनुसार २३ अर्ब रुपियाँ लगानी हुने अनुमान गरिएको आयोजनामा स्वदेशी बैंक निजीक्षेत्र र स्थानीयले लगानी गर्न पाउनेछन्।
त्यसै गरी रोबस्ट कम्पनीले नारच्याङस्थित मिस्त्रीखोलामा विद्युत् उत्पादनका लागि सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाएको छ। ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनामा बैंक वित्तीय संस्था निजीक्षेत्र र स्थानीयको लगानी हुने कम्पनीका प्रबन्ध निर्देशक डोलराज रेग्मीले बताउनुभयो। उता शिख र घारा गाविसको सिमानामा पर्ने घारखोलाबाट पनि १० मेगावाट विद्युत् उत्पादनका लागि म्याग्दी हाइड्रोपावर कम्पनी र स्थानीय सरोकारवालाबीच गत महिना सम्झौता भएको छ।
१ अर्ब ५९ करोड रुपियाँ लगानी हुने अनुमान गरिएको शिखघारा जलविद्युत् आयोजनाका लागि स्थानीयले पनि लगानी गर्न पाउने कम्पनीका प्रमुख अर्जुन पौडेलले बताउनुभयो। जिल्लाको जलविद्युत् क्षेत्रमा लगानीकर्ता आकर्षित हुनु यहाँको विकासका लागि सकारात्मक पक्ष भएको सरोकारवालाहरुले बताएका छन्।
लगानीकर्ता म्याग्दीको जलविद्युत् क्षेत्रमा आकर्षित हुनु सकारात्मक पक्ष हो समन्वय गरेर अघि बढ्ने योजना बनाएका छन् -म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद मर्सानीले भन्नुभयो- साना लगानीकर्तालाई पनि सहभागी गराएर अघि बढे जिल्लाको आर्थिकलगायत समग्र क्षेत्रको विकासमा सहयोग पुग्छ।
Good news.
ReplyDelete