विश्वमा देखिएको भोकमरी, गरिबी, बेरोजगारी, अभाव, सङ्कट, रोग र अशिक्षा जस्ता समस्यालाई यथाशीघ्र समाधान गर्नुपर्ने आवश्यकता जरुरी भएका कारण विकास प्रशासनको अवधारणा विकास भएको हो । विकासका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र यसका लागि सक्षम र सुधारिएको प्रशासनिक संयन्त्रको विकास गर्ने उद्देश्यले यसलाई मूलतः विकासोन्मुख राष्ट्रहरूमा व्यापक गरिएको हो ।
नेपालमा वि.सं. २०१३ सालमा योजनाबद्ध विकासको थालनी भएको साथै सोही मितिदेखि निजामती सेवा ऐन लागू भएकोले सोही समयदेखि नै विकास प्रशासनको प्रयोग भएको मानिएको छ । विकास प्रशासनको लामो प्रयासका कारण विकासका अवधारणा, नीति, सिद्धान्त, शैली, प्रविधिका साथै प्रशासनिक संयन्त्रमा पनि क्रमशः सुधार हुँदै आएको छ । मुलुकको समष्टिगत विकासमा विकास प्रशासनको योगदान उल्लेख्य हुन नसकेको तथ्य टड्कारो रहेको छ । योजनाबद्ध विकासको पाँच दशक लामो प्रयासपश्चात् पनि गरिबीको रेखामुनी रहेका जनता ३१ प्रतिशत हुनु, आर्थिक वृद्धिदर करिब ५ प्रतिशतको हाराहारीमा हुनु, जनसंख्या बृद्धिदर उच्च रहनु, प्रतिव्यक्ति आय न्यून रहनु, प्रशासनिक संयन्त्र परम्पारगत प्रवृतिमै सञ्चालित हुनु जस्ता तथ्यले यसलाई पुष्टि गर्दछ ।
यसबाट नेपालमा विकास प्रशासन पूर्णतः सफल हुन नसकेको सहज अनुमान गर्न सकिन्छ । विकास प्रशासनको अवधारणा अनुरुप विकासका गतिविधिलाई परिवर्तित सोच, शैली, प्रविधि, प्रणाली अनुरुप सञ्चालन गर्न नसकिनु, राजनीतिक अस्थिरताले विकास एवं प्रशासनलाई प्रत्यक्ष प्रतिकूल असर पार्नु जस्ता समस्या विकास प्रशासनका वर्तमान चुनौती हुन् ।
साथै व्यवस्थापकीय सुधारमा मूलतः उत्पादनशील र छरितो प्रशासनिक संगठन संरचना तयार गर्ने, नीति, योजना, कार्यक्रमलाई पूर्ण सहभागितामूलक गराउने, खुल्ला, पारदर्शी र छरितो निर्णय प्रक्रिया अवलम्बन गर्ने, स्रोत साधनको सुनिश्चित गर्ने, सक्षम, मनोबलयुक्त जनशक्तिको विकास गर्ने, गैरसरकारी संस्थाहरूको कार्यक्षेत्र स्पष्ट गरी विकासका साझेदारका रुपमा विकास गर्ने, कार्य प्रणालीलाई वैज्ञानिक र व्यावसायिक गराउने, सक्षम र योग्य नेतृत्व चयन गर्ने, जिम्मेवारी, अधिकार, उत्तरदायित्व स्पष्ट गर्ने, आयोजनाहरूमा स्थानीय लाभान्वित समूहको अपनत्व वृद्धि गर्ने विधि अपनाउने जस्ता सुधारका कार्य गर्नु आवश्यक छ । यसबाट मुलुकमा विकास प्रशासनको सुदृढीकरण भई मुलुकको समष्टिगत विकास अभियानमा सफलता हासिल गर्न सकिने तथ्यमा विश्वस्त हुन सकिन्छ ।
Home »
» विकास प्रशासनका चुनौती
0 : बिचार र सुझाबहरु:
Post a Comment