
तपाईंको शैक्षिक यात्राको बारेमा केही बताइदिनुस् न !
स्कुले जीवनमा लगभग आठवटा स्कुल फेर्नुप¥यो । डेरा कहिले कहाँ हुने, कहिले कहाँ हुने । त्यही अनुरुप स्कुल फेर्नुपर्ने । म सात वर्षको हुँदा आमा स्नातकोत्तर गर्न बेलायत जानुभयो । आमासँगै बेलायत गएँ । पहिलो स्कुलमा ममाथि अलिकति ‘रेसियल ह्यारेसमन्ट’ भयो । त्यहाँ अफ्रिकाली र एसियाली मूलका विद्यार्थीलाई हेप्ने गरिँदो रहेछ ।
त्यसैले लण्डन गएको एक वर्षमै स्कुल फेर्नुप¥यो । आमा बेलायतबाट फर्केको दुई वर्षपछि जनयुद्ध सुरु भयो । जनयुद्ध सुरु भएपछि एक वर्ष त काठमाडौंमै पढें । त्यसपछि यहाँ बस्ने स्थिति पनि रहेन, पढ्ने कुरा त परै जाओस् । त्यसपछि म भारतका केही ठाउँहरुमा भर्ना लिने र पढ्ने, कहिलेकाहीँ नेपालभित्र पनि आउने भइरह्यो । स्नातक दिल्ली विश्वविद्यालयबाट सकाएँ । औपचारिक रुपमा सदस्यता लिएर सङ्गठनमा काम गरेको चाहिँ दश कक्षापश्चात् हो । त्यसपछि सङगठनकै काममा छु । सधैं सरकारी शैक्षिक संस्थाहरुमा नै शिक्षा हासिल गरेँ ।
यसपालि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट सभापतिको उमेदवार उठ्ने हुनुभएछ । क्रान्तिकारीका अन्य नेताहरु छाडेर तपाईंको नै उमेदवारी किन ?
अनेरास्ववियू (क्रान्तिकारी)बाट मेरो उमेदवारी आएको हो । सङ्गठनमा धेरै योग्य व्यक्तिहरु छन् । तीमध्येबाट पनि विभिन्न कोणबाट हेर्दा सङ्गठनले मलाई उपयुक्त ठान्यो । विगतमा मैले चार वर्षसम्म स्ववियूको सचिवको जिम्मेवारी निर्वाह गरेँ । यसबीच, हामीले सङ्गठनलाई सुदृढ पार्दै स्ववियूको माध्यमबाट विद्यार्थी समक्ष जे जति कार्यक्रमहरु लिएर गयौं, त्यसमा एउटा प्रमुख भूमिका मेरो पनि रह्यो । शायद यही कारणले, विद्यार्थीहरुमाझ भिजेको कारणले सङ्गठनले मलाई उमेदवारी दियो ।
विगतमा स्ववियू सचिव थिएँ भन्नुभयो । यसबीच विद्यार्थी हकहितको लागि के काम गर्नुभयो ? अब पनि विद्यार्थीहरुले क्रान्तिकारीलाई नै मत किन दिने ?
धनीका छोराछोरीले एकदमै उच्चस्तरीय शिक्षा पाउने र आम जनताका छोराछोरीले तल्लो गुणस्तरको शिक्षामा चित्त बुझाउनुपर्ने बुर्जुवा प्रणालीको विरुद्ध लागेर हामीले ०६५ सालमा स्ववियूमा प्रवेश गर्दा नीतिगत रुपमा वैज्ञानिक र जनवादी शिक्षाको पक्षमा आवाज बुलन्द पा¥यौं । त्यतिबेला ‘भ्रस्टाचारमुक्त र समानुपातिक स्ववियूको पक्षमा क्रान्तिकारीलाई मतदान’ भन्ने हाम्रो नारा थियो । स्ववियूमा निर्वाचित भएपछि हामीले नीतिगत रुपमा त्यसलाई निरन्तरता दियौं । आर्थिक पारदर्शीता कायम ग¥यौं । समानुपातिकको एजेण्डालाई प्रमुख रुपमा उठायौं र यसपालि पूर्ण समानुपातिक नभए पनि अर्धसमानुपातिकमा हामी जाँदै छौं । स्ववियूलाई समावेशी बनाउने एजेण्डामा हामीले सबैलाई डो¥याएका छौं । पञ्चायतकालदेखिको स्ववियुको विधानलाई नयाँ सन्दर्भमा परिवर्तन गर्न पनि आंशिक सफलता हासिल ग¥यौं ।
त्रिवि केन्द्रीय क्याम्पसमा शैक्षिक क्यालेण्डरको समेत व्यवस्था थिएन । हाम्रै दबाबमा त्रिविले शैक्षिक क्यालेण्डर सार्वजनिक ग¥यो तर अब आउने दिनमा त्यसको कार्यान्वयन गर्नु छ । कार्यान्वयन पक्षलाई हामीले सबभन्दा बलियो एजेण्डा बनाइरहेका छौं । त्यो सँगसँगै अनियमित प्राध्यापकहरुको विरुद्ध पनि हामीले अभियान छेड्यौं । जस्तै, त्रिविकै भत्ता खाने, त्रिविको ‘ब्याज’ प्रयोग गर्ने तर निजी शिक्षण संस्था र ट्युसन सेन्टरहरुमा समय बिताउने प्राध्यापकहरुको हाजिरीमा रातो लगाउने, गयल जनाउने अभियान ग¥यौं । त्यो त्रिविको अनुगमन शाखाले गर्नुपर्ने कार्य थियो । तर, अनुगमन शाखा निरीह देखियो । अनुगमन शाखा स्वयम्ले नै अनियमितताको विरुद्धमा नियमन गरोस् भन्ने हाम्रो प्रयत्न रहने छ । तेस्रो कुरा, भौतिक पूर्वाधार निर्माणका लागि कतिपय कार्यहरु हामीले सुरु गरेका थियौं । पहिलो चोटि क्याम्पसको खातामा हामीले डेढ करोड ल्याएर शौचालय र सडक निर्माण गर्ने, खोनपानी धाराहरुको व्यवस्था गर्ने काम ग¥यौं । त्यसलाई निरन्तरता दिन पनि स्ववियूमा क्रान्तिकारी नै विजयी हुनुपर्छ ।
विद्यार्थी सङ्गठन विद्यार्थी हकहितका लागि लड्नुपर्ने तर खालि माउ पार्टीको एजेण्डामा कुद्ने भए । यो प्रवृत्ति सच्याउनुपर्ने बेला आएको होइन ?
इतिहास हेर्ने हो भने स्ववियू निरङ्कुश पञ्चायतकालमा दलहरुमाथि प्रतिबन्ध लगाइएको परिस्थितिको उपज थियो । त्यसकारण, केही कालखण्डको निम्ति स्ववियू र विद्यार्थी आन्दोलन प्रमुख रुपमा राजनीतिक मुद्दामा केन्द्रित रह्यो । अहिलेको बदलिएको परिस्थितिमा राजनीतिक पार्टीहरु स्वयम् यति क्रियाशील छन्, राजनीतिक मुद्दाहरुलाई उठान र कार्यान्वयन गर्ने सन्दर्भमा । त्यसैले, अबको विद्यार्थी आन्दोलन र विद्यार्थी सङ्गठनहरुको प्रमुख दायित्व भनेको राजनीतिक आन्दोलन सँगसँगै मूल रुपमा शैक्षिक आन्दोलन नै हो । शैक्षिक रुपान्तरण राजनीतिक रुपान्तरण बिना सम्भव हुन्न । आशिंक दायित्व राजनीतिक आन्दोलनमा सहभागी हुने भए पनि अब शैक्षिक मुद्दामै बढी केन्द्रित हुनुपर्छ ।
स्ववियूको चुनावको मुखैमा आएर लाखौं पैसा खर्च गरेर रातारात विद्यार्थी भर्ना गरियो भन्ने खबर विभिन्न छापा माध्यमहरुमा आए । त्यसमा कत्तिको सत्यता छ ?
विभिन्न विद्यार्थी सङ्गठनहरुले बिगतदेखि नै अपनाउँदै आएको विकृति र विसङ्गति रहेछ यो । स्ववियूमा आर्थिक भ्रष्टाचार किन हुने ? अन्य विद्यार्थी सङ्गठनहरुमा सभापतिकै उमेदवार हुनका लागि सबै जना लालयित किन हुने ? बागी उमेदवार समेत किन दिने ? टिकट पाउनको निम्ति बर्षौं बर्षसम्म क्याम्पसमै ढुकेर किन बस्ने ? त्यसको एउटा मुख्य कारण चाहिँ आर्थिक रहेछ । त्यहाँ पुग्नको लागि धेरै खर्च गर्ने रहेछन् । त्यहाँ पुगिसकेपछि त्यसको असुली त गर्नुप¥यो । निर्वाचनको पूर्वसन्ध्यामा जब यस्ता खबरहरु आए हाम्रो सङ्गठनले पत्रकार सम्मेलन मार्फत् नै हाम्रो त्यसमा संलग्नता छैन भन्यो । भर्नामा केही पनि अनियमितता देखिएको छ भने त्यसको छानबिन गरेर अवैधानिक भर्ना खारेज गर्नुपर्छ भनेर हाम्रो सङ्गठनले भनेको छ । जेठ ३ गते त्रिविले भर्ना लिने अन्तिम दिन थियो । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको कुरा गर्नुहुन्छ भने प्रशासन ५ बजेसम्म खुला थियो, त्यहाँभन्दा पर गएर कसैको भर्ना भएको छैन ।
त्रिवि केन्द्रीय क्याम्पसबाहेक अन्यत्र त थुप्रै भर्ना भए भनियो। भनेपछि अब त्यो खारेजीको प्रक्रियामा जान्छ ?
छानबिन गर्नुप¥यो । यो प्रशासनको मुख्य दायित्व हो । निरीह भएर बस्नु भएन । प्रशासनको मिलेमतोमा पनि कतिपय ठाउँमा प्रशासन खुल्ने समयभन्दा बाहिर गएर भर्ना भएको छ भन्ने हामीले सुन्यौं । जस्तो कि, आरआर क्याम्पसको हकमा नेविसंघ–एमाले अखिलले मध्यरातमा ठमेलमा बैंक भौचर काट्न लागिरहेको र हाम्रै क्रान्तिकारीका साथीहरुले रोक्नुभएको भन्ने कुरा आएको छ ।
विद्यार्थी राजनीतिमा लाग्नुभएको छ । राजनीतिलाई नै आफ्नो पेशा बनाउनु सोच्नुभएको छ, अगाडि ?
मैले बुझेको राजनीति भनेको जनताको सेवा हो, कुनै पेशा भन्दा पनि । जनयुद्धको बेला म प्रवासमा, भारतमा मजदुरी गर्न जाने नेपालीहरुको सङ्गठनमा आबद्ध हुने अभियानमा थिएँ । शान्तिप्रक्रियापछि त्रिभुवन विश्वविद्यालयमा पढ्ने अबसर पाएँ । सँगसँगै विद्यार्थी मोर्चामा होमिएँ । म राजनीतिक अभियानमा त लामो समयदेखि छु । यस पश्चात् कुन रुपमा यस अभियानका संलग्न हुन्छु त्यो हेर्न बाँकी नै छ ।
राजनीतिमा लागेर तपाईंको बुबा डा. बाबुराम भट्टराई देशकै सबभन्दा ठूलो दल एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष र देशकै प्रधानमन्त्री हुनुभयो । तपाईंको लक्ष्य चाहिँ कहाँसम्म पुग्ने हो?
व्यक्तिगत लक्ष्य मेरो केही छैन । व्यक्तिगत उन्नतिले मात्रै हामी सन्तुष्ट हुन सक्दैनौं । वरिपरिको समाज यदि अन्यायमा छ, यदि असमानतामा छ भने एउटा व्यक्तिले मात्रै सफलता हासिल गरेर हामी ठीक ठाउँमा पुग्न सक्दैनौं । हाम्रो लक्ष्य भनेको समाजलाई उन्नत दिशातर्फ लाने हो— जहाँ सबै जनताहरु सम्मानजनक रुपमा बाँच्न सकून् । जहाँ शिक्षा, रोजगार, स्वास्थ्य आदि सबै चीजको ग्यारेण्टी होस्, समानता होस्, न्याय होस् ।
अन्त्यमा केही भन्नु छ ?
समग्र शैक्षिक रुपान्तरणको हाम्रो अभियानमा हजारौं सहिदहरुले बलिदान गर्नुभयो, त्याग गर्नुभयो । त्यही अभियानको एउटा अभिन्न अङ्ग र विरासतको रुपमा हामी अगाडि बढिरहेका छौं । यो अभियानमा अखिल (क्रान्तिकारी) अब्बल दर्जामा खरो उत्रने छ । विद्यार्थीहरुले पुष्टि गरिदिने छन् कि हामी सही दिशामा छौं । अखिल (क्रान्तिकारी)को जीत समग्र परिवर्तनकामीहरुको जीत हुनेछ । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस भनेको परिवर्तनको मूल प्रवाह हो । परिवर्तनको सन्देश त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसले दिँदै आएको छ, यसपालि पनि दिनेछ भन्ने मेरो विश्वास हो ।
रातोपाती
0 : बिचार र सुझाबहरु:
Post a Comment