Home » » कतारका अमिरले आफ्ना छोरालाई शक्ति हस्तान्तरण गरे

कतारका अमिरले आफ्ना छोरालाई शक्ति हस्तान्तरण गरे

Written By Unknown on Wednesday, June 26, 2013 | 6:49 AM

दोहा, १२ असार । विश्व–राजनीतिक मञ्चमा प्रमुख कर्ता, ‘अरब वसन्त’ विद्रोहका प्रमुख समर्थक तथा ग्यासधनी मुलुक कतारका अमिर सेख हमाद बिन खलिफा अल–थानीले आफ्ना ३३ वर्षीय पुत्र सेख तामिमको पक्षमा मङ्गलबार शासन परित्याग गरिदिनुभएको छ । एकसट्ठी वर्षीय हमादले खाडी राज्यमा आफ्नो १८ वर्षको शासनकालमा कतारलाई राजनीतिक तथा आर्थिक शक्तिकेन्द्रको रूपमा विकास गर्नुभएको थियो र उहाँले यहाँबाट विश्वभर अरबौँ अमेरिकी डलर लगानी गर्नुभएको थियो ।

सेख हमाद मिर्गौलाको समस्याबाट ग्रस्त हुनुहुन्छ तर कूटनीतिज्ञहरूले उहाँले स्वास्थ्यका कारण नभई नयाँ नेतृत्वलाई अगाडि ल्याउने उद्देश्यले शक्ति परित्याग गरेको बताएका छन् ।

अमिरले कतारको टेलिभिजनमा प्रसार गरिएको सम्बोधनमा आफूले सेख तामिम बिन हमाद अल–थानीलाई शासन हस्तान्तरण गर्न यो घोषणा गरेको बताउनुभयो । उहाँले आफूले जिम्मेवारी सफलतापूर्वक पूरा गरेको ठानेको बताउनुभयो ।

उहाँले नयाँ अमिर तामिमलाई जनताले आफूलाई झैँ समर्थन गर्ने र तामिमले पनि आफ्नो मुलुक, जनता तथा कतारी राष्ट्रको खुसीमा आफ्नो ध्यान केन्द्रित गर्ने आशा व्यक्त गर्नुभयो ।

सेख हमाद सन् १९९५ को जुन महिनामा आफ्नै पिता सेख खलिफालाई बलपूर्वक हटाउँदै शासनमा आउनुभएको हो । उहाँले कतारको व्यापक ग्यास सम्पत्तिलाई यस मुलुकको आधुनिकीकरणमा उपयोग गर्नुभयो ।

शासन परित्याग गर्ने सेख हमादको निर्णयले तामिमलाई खाडी अरब राजाहरूमा सबैभन्दा युवा बनाएको छ ।

कतारमा मङ्गलबार सार्वजनिक बिदा घोषणा गरिएको छ ।

एक कूटनीतिज्ञले अरब विश्वमा स्वतन्त्र रूपले अमिर पद छोड्ने कार्य निकै कम भएको बताए । यहाँ शासकहरूले दशकौँसम्म एकछत्र शासन गरेको देखिएको छ । ‘अरब वसन्त’ नामक क्रान्तिमा ट्युनिसिया, इजिप्ट तथा लिबियाका शासन पतन भएका थिए ।

तामिमको जन्म सन् १९८० मा भएको हो र उहाँ सेख हमादका दोस्री पत्नी सेख मोजाहका दोस्रा छोरा हुनुहुन्छ ।

बेलायतमा शिक्षा प्राप्त गरेका तामिम सशस्त्र सेनाका उपकमान्डर र राष्ट्रिय ओलम्पिक समितिका प्रमुख हुनुहुन्छ । उहाँ सन् २०२२ मा फिफा विश्व कप आयोजना गर्न कतार २०२२ सर्वोच्च समितिका पनि प्रमुख हुनुहुन्छ ।

कूटनीतिज्ञहरूले गत तीन वर्षमा अमिरले तामिमलाई सैनिक तथा सुरक्षाको निकै जिम्मेवारी हस्तान्तरण गरेको जानकारी दिएका छन् । तामिम पनि बेलायतको सैनिक प्रतिष्ठान स्याड्रस्टमा अध्ययन गर्न जानुभएको थियो । उहाँ डोरेस्टको सेरबर्न विद्यालय पनि जानुभएको थियो ।

खाडीको यो सानो प्रायद्वीपः विश्वको तेस्रो ठूलो ग्यास भण्डार हो । यस मुलुकले प्रति वर्ष करिब सात करोड ७० लाख टन तरलीकृत प्राकृतिक ग्यास उत्पादन गर्छ र यो ग्यासमा विश्वको सबैभन्दा ठूलो आपूर्तिकर्ता पनि हो ।

यस खाडी मुलुकमा अल–जजिरा टेलिभिजन पनि स्थापना भएको छ र यसले अङ्ग्रेजी भाषामा पनि कार्यक्रम प्रसारण गर्छ । कतारले सन् २०२२ मा फिफा विश्व कप आयोजना गर्नेभएको छ । रासस÷एएफपी

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS