हेटौंडा, ३१ जेठ । भारत र खाडी मुलुकबाट फर्किएका महिलाको छोरीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । परिवार नियोजन सङ्घ मकवानपुरले बिहीबार कार्यक्रमको आयोजना गरी जोखिममा परेका महिलाका ४७ जना छोरीलाई स्कुल पोसाक, र शैक्षिक सामग्रीसहितको छात्रवृत्ति प्रदान गरेको हो ।
हेटौँडा नगरपालिका र नगर वरपरका १३ वटा गाविसमा अध्ययनरत छात्रा जो आर्थिकरुपले अशक्त छन् उनीहरुलाई नै छात्रवृत्तिका लागि छनोट गरेको परिवार नियोजन सङ्घका प्रमुख हेमन्तकुमार श्रेष्ठले बताउनुभयो ।
सङ्घको तथ्याङ्कअनुसार उक्त १३ वटा गाविस र नगरपालिकामा १ सय ३७ महिला जोखिममा रहेका छन् । जसमा ७५ जना सर्कसबाट फर्किएका, २४ जना बेचिएर फर्किएका र ३८ जना खाडीमुलुकमा यातना खेपेर फर्किएका रहेका छन् । सङ्घका प्रमुख श्रेष्ठले उनीहरुको छोरी पनि आर्थिक अभावको कारणले जोखिममा रहेकाले पढाइमा प्रोत्साहन गर्न छात्रवृत्ति वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँले सन् २००९ बाट नेपालको चारवटा जिल्लामध्ये मकवानपुरमा पनि सुरु भएको पाँचवर्षे आइजिटी कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको र यो वर्ष सो कार्यक्रम सकिने भए पनि सङ्घले सञ्चालन गरिरहेको चेलीबेटी बचल तथा ऋण सहकारीमार्फत यसलाई निरन्तरता दिने बताउनुभयो ।
कालिका माध्यमिक विद्यालयकी छात्रा करिश्मा गुरुङले पैसा नभएर पढाइ छोड्ने बारे सोचेको भन्दै अब यो छात्रवृत्तिले आफ्नो पढ्ने रहर पूरा गरेको बताउनुभयो । त्यसैगरी आर्थिक अभाव कै कारण विद्यालय नगएकी–८ वर्षीया बालिका पूजा थापालाई पनि सङ्घले छात्रवृत्ति प्रदान गरेको छ ।
0 : बिचार र सुझाबहरु:
Post a Comment