Home » » यसरी मरुभूमि बन्दैछ नेपाल

यसरी मरुभूमि बन्दैछ नेपाल

Written By Unknown on Sunday, July 28, 2013 | 5:55 AM

शिव पौडेल-
नेपालमा पर्यावरणको समस्या झन्पछि झन् गम्भीर बन्न गएको छ । विश्वव्यापीरुपमा कृषियोग्य जमीनको विनाश, हावापानीमा बढ्दो प्रदूषण, ओजनको विनाश आदिको असर नेपालमा परिरहेको छ । हिमालयमा हिउँ लगातार घट्दै गइरहेको छ । वाढी, पहिरो बढ्दै गइरहेका छन् । नदीहरु सुक्दै गइरहेका छन् । बाग्मती र विष्णुमति नदीहरुका उदाहरणहरु हाम्रा अगाडि छन् । ती नदीहरु पहिलेको तुलनामा कैयौं गुणा बढी सुकेर मात्र गएका छैनन्, पानी पनि फोहर भएको छ ।

पहाड र तराई दुवैतिर वन जंगलको ठूलो पैमानामा विनास भइरहेको छ । तराईबाट ठूलो पैमानामा काठको तस्करी हुने गर्दछ । बालुवा, गिट्टीको ठूलो पैमानामा उत्खनन् र निकासीका कारणले पनि पर्यावरणमा धेरै नै प्रतिकूल असर परेको छ । चुरे पहाडको विनाश हुँदै गइरहेको छ ।

पर्यावरणका कारणले पैदा भएको संकटको सामना गर्न वा विश्वव्यापी रुपमा देखापरेको संकटबाट मानव जातिको रक्षाका लागि विश्वव्यापी रुपमा नै प्रयत्न भइरहेका छन् वा आन्दोलन चलिरहेका छन् । त्यो दिशामा नेपालमा पनि कैयौं संघ संस्थाहरुले आफ्ना-आफ्ना प्रकारले आन्दोलन गरिरहेका छन् । ती प्रयत्न र आन्दोलनहरुलाई भू तथा पर्यावरण समितिले पनि अगाडि बढाउने प्रयत्न गरेको छ । तर, राजनीतिक दल वा संगठनहरुको यसबारे पर्याप्त ध्यान गएको पाइन्न । यो राष्ट्रिय महत्वको तथा जनताको जीवन तथा भविष्यसमेतसित जोडिएको प्रश्न हो । त्यसकारण यसबारे सबै राजनीतिक शक्तिहरुको ध्यान जानुपर्ने आवश्यकता छ ।

नेपालमा पर्यावरणीय आन्दोलन

अहिले देशका कैयौं भागहरुमा विभिन्न प्रकारले पर्यावरणमा भइरहेको विनाशका विरुद्ध आवाज उठिरहेको छ । त्यस सिलसिलामा चुरेभावरको रक्षा, पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा बालुवा, गिट्टी, ढुंगा आदिको निकासीका विरुद्ध आन्दोलन, काठमाडौंमा गोदावरीको पर्यावरण आन्दोलन, अर्घाखाँचीको चूनढुंगाको उत्खननका विरुद्धको आन्दोलन, सुदुरपश्चिमका पर्यावरणसम्बन्धी कैयौं जिल्लाहरुमा भएका आन्दोलन उल्लेखनीय छन् ।

यस सिलसिलामा कपिलवस्तुको पर्यावरण सम्बन्धी आन्दोलन विशेष रुपले उल्लेखनीय छ । कपिलवस्तुमा पर्यावरणको संरक्षणका लागि ०५६ सालदेखि नै आन्दोलन चल्दै आएको छ । त्यहाँ एग्रोफरेष्टी दर्ता भएर ठूलो पैमानामा जंगल फडानीको विरुद्ध पर्यावरण आन्दोलन चलेको थियो । अन्तमा सर्वोच्च अदालतको फैसलाबाट त्यो एग्रोफरेष्टीलाई खारेज गरिएको थियो । ०६४ सालदेखि त्यहाँ ढुंगा, बालुवा, गिट्टीको उत्खनन र निकासीका विरुद्ध सर्वदलीय आधारमा संयुक्त आन्दोलन चल्दै आएको छ । त्यसबाट सर्वोच्च अदालतमा मुद्दा पनि दायर भएको थियो । ०६९ मा सर्वोच्च अदालतको एकल इजलासले अन्तरिम आदेश दिएर गिट्टी समेतको उत्खनन र निकासी विरुद्ध प्रतिबन्ध लगाइएको थियो । तर, केही महिना पहिले सर्वोच्च अदालतको संयुक्त इजलासले त्यो मुद्दालाई खारेज गरिदिएको छ । त्यसले ढुंगा, वालुवा आदिको अनियन्त्रित रुपले निकास हुने तथा पर्यावरणमा गम्भीर खतरा उत्पन्न हुने सम्भावना देखापरेको छ ।

अदालतको त्यो फैसलाका बावजुद बालुवा, गिट्टी र ढुंगाको अनियन्त्रितरुपले निर्यात हुने र पर्यावरणमा गम्भीर असर पुग्ने खतरा उत्पन्न भएको छ । तर, सर्वोच्च अदालतको त्यो फैसलाका बाबजुद पर्यावरणको रक्षाका लागि हाम्रो आन्दोलन लगातार अगाडि बढिरहने छ । वास्तवमा आज पर्यावरणको समस्या मात्र राष्ट्रिय समस्या भएको छैन । त्यससम्बन्धी आन्दोलनले पनि राष्ट्रिय रुप लिंदै गइरहेको छ । त्यस प्रकारको अवस्थामा सर्वोच्च अदालतको फैसलाका बाबजुद हाम्रो आन्दोलनले राष्ट्रिय रुपमा विकास गर्दै जानेछ भन्ने कुरामा हामीलाई विश्वास छ ।

पर्यावरणको रक्षाका लागि गत वर्षहरुमा कैयौं कार्यहरु चलेका छन् । त्यस सिलसिलामा गत वर्षहरुमा काठमाण्डौ, कपिलवस्तु, अर्घाखाँची, रुपन्देेही आदि स्थानहरुमा पर्यावरणसम्बन्धी कैयौं भेला वा अन्तरक्रियाहरु सम्पन्न भएका छन् ।

विश्वव्यापी समस्या

आज पर्यावरणको समस्या एउटा विश्वव्यापी समस्या बनेको छ । पर्यावरणको संरक्षण विश्वको अत्यन्त कठिन र जटिल समस्या बनेको छ । विश्वव्यापी रुपमा नै पर्यावरणीय संकट उत्पन्न भएको छ । त्यसले गर्दा विश्वव्यापी रुपमा नै कृषियोग्य जमीनको मरुभूमीकरण वा विनास हुँदै गइरहेको छ ।

मानिसले पिउने पानी र जीवनका लागि नभइनहुने हावा समेत प्रदूषित हुँदै गइरहेको छ भने ओजन तहको पनि विनाश हुँदै गइरहेको छ । यहाँसम्म कि पृथ्वीमा बढिरहेको प्रदूषणको असर आकाशबाट वर्षने पानीमा पनि पर्दछ र आकाशबाट वर्षने प्रदूषित पानीको असर जीव जन्तु, वनसम्पदा र उर्वर माटोमा पनि पर्दछ । विश्वव्यापी रुपमा जनसंख्याको चापको पनि पर्यावरणमा प्रतिकूल असर परिरहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूला-ठूला महामारी र डरलाग्दा रोगहरुको वृद्धि हुँदै गइरहेको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS