Home » » चुनावमा एमाओवादीलाई ज्ञानेन्द्र घाँडो

चुनावमा एमाओवादीलाई ज्ञानेन्द्र घाँडो

Written By Unknown on Friday, July 26, 2013 | 6:47 AM

११ साउन, काठमाडौं । नेकपा– माओवादीलगायत असन्तुष्ट दलहरूसँगको वार्ता असफल भए पनि प्रमुख दलहरू चुनाव केन्द्रित हुन थालेका छन्। तर, संविधानसभाको गत चुनावमा सबैभन्दा बढी सिट जितेको एमाओवादी भने आन्तरिक कार्यविभाजनको लफडाले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एकल नेतृत्व निर्माण गर्दै चुनावी अभियानमा जाने निश्कर्षमा पुगेको छ। चुनावको मुखमा पार्टीमा उत्पन्न भाँडभैलो ब्यवस्थापन गर्न नसकेपछि तत्कालका लागि अध्यक्षबाहेक सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको माओवादीको आन्तरिक विग्रह चुनावमा छताछुल्ल हुने मात्र देखिएको छैन। उसले विगतको संविधानसभा चुनावमा संवैधानिक राजसंस्था रहेका बेला तत्कालीन राजा ज्ञानेन्द्रको राज्यारोहणको फोटो सार्वजनिक गरेर तयार गरेको चुनावी मसला यसपटक आफैँतिर फर्केर संकटमा पर्ने देखिएको छ।

खासगरी एमाओवादीवाट फुटेको नेकपा माओवादीले राष्ट्रियताका लागि पूर्वराजा र राजावादीहरूसँग सहकार्य गर्ने भनाई सार्वजनिक गरेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाबाट एमाओवादी नेता बाबुराम भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्रसँग संसदमा रहेका दलहरूलाई कर्नरमा पार्ने र राजा र माओवादी मिलेर सत्ताको भागबण्डा गर्न गरेको प्रस्ताव सार्वजनिक भएको छ। एउटा निश्चित राजनीतिक प्रणालीमा आवद्ध दलका नेतालाई राजाको राज्यारोहण समारोहमा दाम चढाएको फोटो सार्वजनिक गरेर गत चुनावमा हुर्मत लिएको एमाओवादीले कुना काप्चामा लुकेर तत्कालीन राजासँग कस्तो सम्झौता गरेको रहेछ भन्ने कुरा यसपटको चुनाव अगाडि सार्वजनिक भएपछि गत चुनावमा एमाओवादीले अन्य दलमाथि चलाएको हतियार अहिले उसैमाथि फर्केको हो।

बाहिर उग्रगणतान्त्रिक र भित्र लोकतन्त्रविरुद्ध राजासँग सत्ताको भागबण्डा गर्ने अनि बाहिर उग्रराष्ट्रवादी नारा लगाएर भारतीय खुफिया संस्थासँग मुलुकविरुद्ध अपराध गरेको एमाओवादीले यसपटक आफूलाई छोप्न ठूलै कसरत गर्नु पर्ने देखिएको छ। चुनावमा जाने तयारीमा रहेका प्रमुख दलहरूमध्ये यसपटक नाराहीन रहेको एमाओवादीले एकल जातीय पहिचानको संघीयतालाई मुद्दा बनाएको छ भने एमालेले बहुजातीय पहिचानको संघीयता, राष्ट्रिय एकता र लोकतन्त्रलाई मुख्य मुद्दा बनाएको छ। त्यस्तै कांग्रेसले पनि बहुजातीय पहिचान र लोकतन्त्रलाई मुख्य मुद्दा बनाएको छ। एमाओवादीले यसअघि लिएको राजनीतिक लाइनको असान्दर्भिकता पुष्टि भएको र उसले दुई पटक सत्तामा बसेर वितमा बाँडेका सपनाहरू भत्काएकाले ऊ सबै भन्दा कमजोर शक्तिका रुपमा स्थापित हुने संभावना बढेर गएको छ। त्यो बुझेपछि उसले मधेस र जनजाती प्लटलाई
अझै उपयोग गर्ने रणनीति लिएको हो।

उसको राष्ट्रियता र जनगणतन्त्र र जनावादको नारा भने नराम्रोसँग उजागर भएको छ र यसपट जातीय विखण्डनलाई मुख्य नारा बनाएर अगाडि आउने जमर्को गरेको छ। विगतको संविधानसभा संविधान विहीन रुपमा विघटन हुनुको मुख्य कारण पनि एमाओवादीले रोपेको जातीय विखण्डनको नारा नै हो। जुन कारणले लामो संघर्षपछि स्थापित संविधानसभा त्यतिकै विघटन भएका कारण नेपाली नागरिकहरूमा पनि जातीयताको नाराप्रतिको आकर्षण कमजोर बन्दै गएको छ।

यसकारण पनि एमाओवगादी यसपटक सबैभन्दा कमजोर नारा बोकेर चुनावमा जाने शक्तिका रुपमा देखिएको छ। त्यसका अलावा जनतालाई जनवादको सपना देखाउँदै आएको एमाओवादीले आफूभित्र भने अधिनायकवादी खालको एकल नेतृत्वमा गएको छ। अब कसैले पनि पत्याउने अवस्था छैन कि एमाओवादी मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, जनजीविका, लोकतन्त्रका लागि सहयोगी शक्ति हो भन्ने कुरा। त्यसका अलावा गत चुनावमा तयार भएको भ्रमात्मक मनोविज्ञान यसपाली समाप्त भएको छ र एमाओवादी फुटेर दुई टुक्रा भएको छ। अझ उसको कार्यकर्ता पंक्तिमा छाएको तीब्र स्खलनले एमाओवादी कमजोर भएको छ।

उता एमालेले विगतको चुनावमा आफ्ना तर्फवाट भएका कमजोरीहरू पहिचान गरी चुनावी अभियानको सशक्त योजना तर्जुमा गरेको छ। उसले राष्ट्रिय एकतालाई मजबुत बनाउन जातीय मेलमिलाप र एकतामा आधारित संघीयता, सुदृढ लोकतन्त्र र राष्ट्रियताको मुद्दा अगाडि सारेको छ। यस हिसावले हेर्दा एकछिन्का लागि सपना देखाउने चर्का नारा र आश्वासन नभएर टिकाऊ र दीर्घकालीन राजनीतिक स्थायित्व र अग्रगतिको वाटोमा हिंड्ने स्थायी राजनीतिक शक्ति एमाले र कांग्रेस नै हुन् भन्ने स्थापित भएको छ।

अर्कोतिर गत चुनावमा तराईमा मधेसी नारा स्थापित गरेर उदाएका क्षेत्रीय राजनीतिक दल सत्ताको हतियार मात्र रहेको विगतले पुष्टि गरेको छ। त्यसमाथि विगतमा पञ्चायत र बहुदलीय ब्यवस्थाको कालमै सत्तामा रहेका ब्यक्तिहरूकै नेतृत्वमा नयाँ शक्तिको जामा पहिर्‍याइएका उनीहरू नयाँ शक्ति होइनन् र सत्ताका खेलौना मात्र हुन् भन्ने कुरा समयले पुष्टि गरिसकेको छ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS