Home » » पार्टीमा वैचारिक संघर्ष छैन : भट्टराई

पार्टीमा वैचारिक संघर्ष छैन : भट्टराई

Written By Unknown on Sunday, July 7, 2013 | 5:59 AM

काठमाडौं, असार २३ – एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले आफ्नो पार्टी भित्र कुनै वैचारिक संघर्ष नरहेको बताउनुभएको छ ।

‘खास खास चरणमा पार्टी भित्र वैचारिक संघर्ष हुन्छ, मैले जुन कुरा उठाउँदै आएको थिएँ, त्यसलाई हेटौंडा महाधिवेशनले संश्लेषण गरेको छ । त्यसैले अहिले पार्टीमा वैचारिक संघर्ष छैन ।’ उज्यालोसँग कुरा गर्दै भट्टराईले भन्नुभयो ‘संगठनात्मक समस्या पनि छिटै विस्तारित बैठकले सम्बोधन गर्छ ।’

विगतमा एकीकृत माओवादी भित्र वैचारिक समूह भएपनि भट्टराईले आफूले कहिल्यै पनि गुटबन्दी नगरेको दावी गर्नभयो ।

पद र सत्ता नै सबैथोक हो भन्ने प्रवृत्ति बढेर एकीकृत माओवादीमा पनि संसदीय विकृति बढेकाले त्यसलाई रोक्न आफूले पद त्यागेको भट्टराईले बताउनुभयो । ‘कम्यूनिष्ट आन्दोलनमा पनि पद र सत्ता नै सबै कुरा हो भन्ने विकृति विसंगति झाङ्गिदै गएको छ । राजनीतिक पार्टी र नेता प्रति घृणा बढेको छ ।’ भट्टराईले भन्नुभयो ‘बेलैमा यसलाई नरोके बहुदलीय व्यवस्था प्रति नै जनताको वितृष्णा बढ्छ मैले त्यसलाई रोक्न पद त्यागेको हुँ । अरुले पनि यसलाई अनुशरण गर्नुपर्छ ।’

भट्टराईले मूल फोहर भएमा पानी सफा नहुने भन्दै आफ्नो कदमलाई ‘मूल सफा गर्ने ’ प्रयत्न भन्नुभयो । भट्टराईले अब आफू पार्टीको कार्यकारी पदमा नफर्कने र विस्तारित बैठकले यसलाई मूल्याङ्कन गर्दै शुद्धीकरण अभियान थाल्ने बताउनुभयो ।

कार्यकारी पदमा नबसे पनि पार्टी र आन्दोलनमा सक्रिय रहने उहाँले स्पष्ट पार्नुभयो । चुनाव बहिस्कार गर्ने नेकपा–माओवादीको निर्णयलाई भट्टराईले आत्मघात भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।

चुनावका लागि वैद्य समूहका जायज माग पुरा गर्ने र नाजायज माग सम्बोधन नहुने भट्टराईको भनाइ छ । सरकार फेर्नु पर्ने नेकपा–माओवादीको माग पनि भट्टराईले अस्वीकार गर्नुभयो ।  भट्टराईले मंसिर ४ गते चुनाव नभए मुलुकमा प्रतिगमन हुने भट्टराईले दावी गर्नुभयो ।

‘कुनै पनि बहानमा चुनाव स्थगन गर्ने कुराले समग्र प्रक्रिया भताभुंग भएर मुलुकमा प्रतिगमन हुन सक्छ ।’ मंसिर ४ मा चुनाव गर्नुपर्नेमा जोड दिँदै भट्टराईले भन्नुभयो ‘भर्खरै तपाइँले ईजिप्टमा देख्नुभयो, सेनाले हस्तक्षेप गर्‍यो । त्यसैले यस्तो दुर्भाग्यपूर्ण अवस्था आउन नदिन हामी सबैले जिम्मेवार सबै मिलेर संक्रमणकालको व्यवस्थापन गर्नुपर्छ ।’

पार्टी संसदीय विकृति विसंगतिमा फस्न थालेको भन्दै राजिनामा दिएका भट्टराईले अहिले पार्टीमा वैचारिक संघर्ष नरहेको र संगठनात्मक समस्या मात्रै भएको बताउनुभयो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS