Home » » ११ वर्षदेखि नाइलनको दाम्लोमा किशोरी

११ वर्षदेखि नाइलनको दाम्लोमा किशोरी

Written By Unknown on Sunday, October 19, 2014 | 3:55 AM

ओखलढुंगा, २ कात्तिक– मानसिक सन्तुलन गुमाएकी ओखलढुंगा केत्तुके–३ की १८ वर्षीया एक किशोरीलाई ११ वर्षदेखि उनका परिवारले नाइलनको डोरीले बाँधेर राख्ने गरेका छन् ।

उनीसँगैका साथीहरु कक्षा कोठाभित्र पढ्छन् । तर, उनी आमासँगै विद्यालय आएपछि दैनिक कार्यालयको ढोका अगाडि नाइलनको डोरीले बाँधिन्छिन् । भीमसेनस्थान मावि केतुकेका कार्यालय सहयोगी मौलिमाया तामाङकी १८ वर्षीया छोरी सुन्तलीमायालाई यसरी बाँधेर राख्न थालेको ११ वर्ष बितिसकेको छ ।

एघार वर्षअघिसम्म राम्ररी कान सुन्ने र मानसिक सन्तुलन ठीक भएकी सुन्तलीको बोली भने जन्मैदेखि थिएन । एकाएक उनको मानसिक सन्तुलनले काम नगरेपछि आमाले यसरी डोरीले बाँधेर राख्ने गरेकी हुन् । घरमा हेर्ने मान्छे कोही नभएपछि स्कुल ल्याउने र डोरीले बाँधेर राख्ने अनि फर्किने बेला सँगै लिएर जाने उनकी आमाले बताइन् ।

उपचारका लागि केही वर्षअघि धरानको बिपी मेमोरियल अस्पताल लगेको भए पनि त्यहाँ उपचार सम्भव नहुने र त्यसका लागि भारत पुर्‍याउनुपर्ने भनेपछि उनलाई अन्त कतै लगिएन । सुन्तलीलाई मुर्छा पर्ने रोग छ । सोही रोगले च्याप्न थालेपछि उनको मानसिक सन्तुलन गुमेको हो ।

मौलिमायाको परिवारमा आमाछोरी दुईजना मात्रै छन् । अवकाशप्राप्त भारतीय सेना श्रीमान् मौलबहादुर १६ वर्षदेखि दोस्रो श्रीमती बिहे गरेर भारतमै बसोबास गर्छन् । मौलिमायाले श्रीमान्सँग मुद्दा लडेर पेन्सनको एक तिहाइ रकम मासिक ६ हजार पाउँछिन् ।

१७ वर्षदेखि भीमसेनस्थान माविमा कार्यालय सहयोगीको काम गर्न थालेकी उनको तलब ६ हजार २०० रुपैयाँ छ । खानलाउनका लागि आमाछोरीलाई आर्थिक अभाव नभए पनि छोरीको उपचार गर्ने ठाउँ थाहा नभएको र परिवारमा सहयोगी सदस्य कोही नभएकाले अहिलेसम्म कतै लान नसकेको उनले बताइन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS