Home » » साढे ४३ करोड लागतमा बन्दैछ बुटवल उपमहानगरको भवन

साढे ४३ करोड लागतमा बन्दैछ बुटवल उपमहानगरको भवन

Written By Unknown on Friday, June 22, 2018 | 7:36 PM


बुटवल, ८ असार । बुटवल उप-महानगरपालिकाको आधुनिक स्वरुपको नयाँ कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले भवनको शिलान्यास गरेका हुनु् । शुक्रबार शिलान्यास भएको भवन प्रमुख अर्थात् ए ब्लक हो । बेसमेनसहित चार तलाको आधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार तीन सय ८१ रुपैयाँ ५२ पैसा रहेको योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए ।

तर, निर्माण कम्पनी विकोही, शिवशक्ति, वन्दन भगवती जेभी न्यू वानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार पाँच सय ७२ रुपैयाँ ८४ पैसामा आगामी ०७८ असारमा सक्ने गरी असार ६ गते बुधबार ठेक्का सम्झौता गरेको इन्जिनियर गौतम रौनियारले बताए । उक्त भवनमा रहेको अन्डरग्राउण्डमा एक सय छ वटा मोटरसाइकल, ३५ वटा कार पार्किङ गर्न मिल्ने छ । यसका अतिरिक्त बाहिरी पार्किङ छुट्टै छ । भवनमा दुई अलग-अलग स्थानमा लिफ्ट र दुई वटै सिंढीहरु रहने छन् ।

भवन शिलान्यासका क्रममा बोल्दै नेकपाका महासचिवसमेत रहेका पौडेललेे बुटवलको बुद्धकालीन सभ्यता र ऐतिहासिक महत्वलाई झल्काउने गरी काम गर्न जरुरी रहेको बताए ।

आधुनिक भवनको निर्माण कार्य समयमै सक्न आग्रह गर्दै उनले निर्माण कार्यहरुमा नागरिकहरुको पनि निगरानी र खबरदारी जरुरी रहेको बताए । सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने पौडेलको सुझाव थियो ।

लुम्बिनी र बुद्धबल्लीलाई केन्द्रमा राखेर समग्र प्रदेशको विकासका लागि जुट्न जरुरी रहेको उनको भनाइ थियो । अहिले सरकारले समाजवादको वस्तुगत आधार तयार पार्नेगरी काम गरिरहेको पनि बताए ।
बुटवल उप-महानगरपालिकाले करिब तीन विघा जग्गामा गुरुयोजना बनाएर अत्याधुनिक कार्यालय भवन निर्माणको काम सुरु गरेको नगर प्रमुख शिवराज सुवेदीले बताए ।

सुन्दर बुटवल, समृद्ध बुटवल, सुखी बुटवलबासीको संकल्प अनुसार आफुहरु आवधिक र दीर्घकालीन महत्वका काममा केन्दि्रत रहेको उल्लेख गर्दै प्रमुख सुवेदीले बुटवलको विकासमा सबैसंग हातेमालो गरिने उनको भनाइ छ ।

हाल भवन रहेको समेत जग्गामा प्रमुख प्रशासनिकसहित अरु छ वटा ब्लकमा भवनहरु निर्माण गर्ने गरी गुरुयोजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले जानकारी दिए ।

२०१६ सालमा स्थापना भएको बुटवलको हालको मूल भवन भने २०३५ सालमा निर्माण भएको हो । यो मूल भवनसहितका कार्यालय भवनहरु प्रायः जीर्ण र गएको भूकम्पले चर्किएको अवस्थामा छन् ।

भवन शिलान्यास समारोहमा प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य लिला गिरी, नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसांसद वामदेव क्षेत्री, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि युवराज गिरीलगायतले बोल्दै तोकेको समयमै निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS