मुलक सात-सात महिनासम्म सरकार विहीन अवस्थाबाट गुज्रियो। पछि आएर ठूलो दल माओवादीले एमाले नेता खनाललाई प्रधानमन्त्री बनाउन जुन पहल गर्यो त्यसको सह्राना जनताले नगरेका होइनन्। त्यसकै फलस्वरुप केही हदसम्म आशाका किरणहरु देखिन थालेका थिए। विडम्बना ! हिजोभन्दा आज दलहरुबीच मतभेद बढ्दै गएको देखिन्छ। पछिल्लो सातबुँदे सहमति समस्या समाधान गर्नेभन्दा जनतामाझ भ्रम र अन्योलता सिर्जना गर्ने काम सिवाय अरु केही होइन रहेछ भन्ने कुरा स्वयम् नेताहरुको व्यवहार र चरित्रले छर्लड्ड पारिसकेको छ। मुलुक र जनताका लागि भनेर त्यत्रो सहमति गर्न सक्ने नेताले आज आएर मन्त्रालयको बाँडफाँडमा अल्झिनु निकै अशोभनीय र गैर-जिम्मेवारपूर्ण चरित्र हो।
आमनागरिक त्रसित हुन थालिसकेका छन्- जेठ-१४ पछि के के हुने हो भनेर। त्यसो हुनु अस्वाभाविक पनि होइन। उनीहरुलाई आनन्दसँग गरी खान पाए त्यही नै ठूलो कुरा छ। महंगीले आकाश छोइसक्यो। देशमा बेरोजगारीको संख्या बेपत्ता बढ्दो छ। सुरक्षाको स्थिति सन्तोषजनक छैन। मुलुकभित्रको अस्थिर राजनीतिले दक्ष जनशक्ति डरलाग्दो रुपमा विदेश पलायन भैरहेको छ। संस्थान र कम्पनीहरु धराशायी बनेका छन्। उत्पादनशील कलकारखाना तीन महिना चल्छन् नौ महिना बन्द हुन्छन्। बढ्दो लोडसेडिङले ठूला उद्योगहरुसँगै मिडिया हाउसहरुसमेत नराम्ररी प्रभावित छन्। वास्तवमा यसो हुनुपछाडि मुलुकको अस्थिर राजनीति नै प्रमुख कारण हो।
देशलाई यहाँसम्म पुर्याएर द्वन्द्वमा फस्नु दिनु हुँदै हुँदैन। लोकतन्त्र स्थापनार्थ नेपाली जनता समाज र विभिन्न संघ-संगठनको कम्ती योगदान छैन। द्वन्द्वकालमा लागेका घाउचोटहरु आलै छन्। खास भन्ने हो भने नेताहरुले तिनीहरुसामु माफी मागेर समयमै शान्ति र संविधान दिने अठोट गर्नुपर्दछ। एउटा निर्णय गर्ने र त्यसका लागि एक वर्ष बिताइदिने प्रचलन जबसम्म मन र मतिष्कबाट हटाउन सकिन्न तबसम्म दल र नेताहरुप्रतिको विश्वास स्थिर हुन सकिन्न।
संविधान निर्माण कार्यमा सबभन्दा ठूलो दलको नाताले नेकपा माओवादी बढी जिम्मेवार भएर लाग्नु अत्यावश्यक छ। प्रधानमन्त्रीको पद त्याग गरेको दलले मन्त्री पदको लोपमा परेर किन इज्जत फाल्ने साँच्चिकै महानता नै प्रदर्शन गरेको हो भने अनावश्यक रुपमा विवाद निम्त्याउन खोजिरहेका अन्य दल तथा नेतालाई समेत माओवादीले ट्रुक’मा ल्याउन सक्नुपर्दछ। तब मात्र शान्ति र संविधानको पक्षमा रहेको ठहर्छ। स्वय्म प्रधानमन्त्री खनाल पनि निर्णय लिन कत्ति डगमगाउनु हुँदैन।
प्रधानमन्त्री हुनासाथ उहाँले मुलुकका नाममा जे-जस्ता कुराहरु अभिव्यक्त गर्नुभएको थियो त्यसमै अडिग रहन सक्नुमा नै उहाँको सार्थकता रहनेछ। अवश्य पनि सबैलाई मिलाएर एकै साथ लैजान गाह्रो भएको सबैले बुझेका÷देखेका छन् यद्यपि आफ्नो जिम्मेवारी बोधबाट कत्ति पनि विचलित हुनु हुँदैन। सबैलाई थाहा भएकै कुरा हो- एउटा सरकार निर्माण गर्दा महिनौं दिन समय यसो-त्यसो गर्दैमा खेर जान्छ। काम कारबाहीहरु बीचमै अड्किन्छन्। त्यसैले सकेसम्म त्यस्तो परिस्थिति सिर्जना हुनबाट बच्दै शान्ति र संविधान’लाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नु आवश्यक छ।
Home »
» आशाका किरण निरास हुन नदेऊ !
0 : बिचार र सुझाबहरु:
Post a Comment