Home » » भत्काइएको सडक बनाउन ७४ करोड चाहियो

भत्काइएको सडक बनाउन ७४ करोड चाहियो

Written By Admins on Sunday, March 18, 2012 | 4:35 AM

५ चैत, काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैशाखभित्र राजधानीमा भत्काइएका सडक मर्मत गर्न सम्बन्धित निकायलाई आग्रह गरेलगत्तै काठमाडौं महानगरपालिकाले दुई मन्त्रालयसँग झन्डै ७४ करोड रुपियाँ माग गरेको छ।


कामपाले तीन दिनअघि भौतिक योजना तथा निर्माण मन्त्रालय र करिब डेढ साता अघि स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरी उक्त रकम माग गरेको हो। आव २०६२-०६३मा नेपाल सरकारद्वारा कामपालाई हस्तान्तरण गरिएको करिब ९ सय ५० किमि भित्री सडकमध्ये विस्तारको क्रममा भत्काइएका र केही भाग अत्यन्तै जीर्ण अवस्थामा रहेकाले ती सडकहरु तत्काल मर्मत गर्नुपर्ने जनाउँदै दुईवटा मन्त्रालयसँग कार्ययोजनासहित बजेट माग गरिएको कामपाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बताउनुभयो।

कामपाले भौतिक योजना तथा निर्माण मन्त्रालयसँग ३२ करोड १२ लाख र स्थानीय विकास मन्त्रालायसँग ४१ करोड ५५ लाख रुपियाँ माग गरेको छ। काठमाडौं उपत्यका नगरविकास योजना कार्यान्वयन समितिबाट हालसालै विस्तार गरिएका र आगामी दिनमा विस्तार गरिने सडकको मर्मतका लागि रकम माग गरिएको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिनुभयो।
महानगरपालिकाको आन्तरिक स्रोतबाट बाटो विस्तार गर्न नसकिरहेको अवस्थामा नगर विकास समितिबाट विस्तार गरिएको सडक पुनः निर्माणका लागि भन्दै कामपाले बजेट माग गरेको हो।

बाटो विस्तारको अलावा कामपाको क्षेत्रभित्र पर्ने विभिन्न स्थानको सडकहरु दिनप्रतिदिन जीर्ण बन्दै गएको र कामपाको बजेटले ती सडकहरु मर्मत गर्न नसकिने भएको जनाउँदै स्थानीय मन्त्रालयमा पत्राचार गरिएको कामपा शहरीयोजना तथा भौतिक निर्माण विभागका प्रशासकीय अधिकृत रामप्रसाद पौडेलले बताउनुभयो। कामपाले स्थलगत निरीक्षण र सर्वेक्षण गरी भौतिक योजना तथा निर्माण मन्त्रालयमा कामपाको मातहतमा रहेको ३५ वटै वडाको १ सय १५ वटा बाटोको नामावलीसहित पत्र पठाएको छ।

महानगरको मातहतमा रहेको जीर्ण सडकको मर्मत संहार र स्तरउन्नति नहुँदा यातायात व्यवस्थापनमा अवरोध सिर्जना भएको सडक अत्यन्त जीर्ण र धुलाम्य हुदा नगरवासीको स्वास्थ्यमा समेत प्रतिकूल असर परेकोले तत्काल बाटो मर्मत गर्न बजेट माग गरिएको उल्लेख गरी पत्राचार गरिएको छ। नगरविकास समितिले विस्तार गरेको सडकको विस्तृत विवरणसहित तत्काल निर्माण गर्नुपर्ने उल्लेख गरी पत्र पठाएको प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो। मन्त्रालयले बजेट उपलब्ध गराउनासाथ सडक निर्माण कार्य थालनी गरिने प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो।

कामपाले आरसीसी ढलान कालोपत्रे बाटो ढलान रिटेनिङवाललगायत शीर्षकमा बजेट माग गरेको छ। कामपा १४ स्थित लिकमार्ग कालोपत्रे गर्न १ करोड १० लाख ६ स्थित कार्यसिद्धेश्वर मार्ग बोहोराटार मार्ग कालोपत्रे गर्न ७४ लाख २७ हजार कामपा ६ स्थित श्रमिक मार्ग सरस्वतीनगर मार्ग नागकुण्ड मार्गको सडक कालोपत्रे गर्न ५०-५० लाख माग गरिएको छ। विशेष गरी विस्तार गरिएको सडक मर्मत र कालोपत्रे गर्न रकम माग गरिएको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो। उहाँले सबै सडकको विस्तृत विवरण संकलन गर्न कामपाका इन्जिनियर परिचालन गरिएको बताउँदै सबै सडकको विस्तृत विवरण संकलन गरेर बजेट छुट्याएर मन्त्रालयमा पत्राचार गरिएको उल्लेख गर्नुभयो।

स्थानीय विकास मन्त्रालयमा पठाइएको पत्रमा निकट भविष्यमा हुन लागेको सार्क सम्मेलनको समेत दृष्टिगत गरी जीर्णोद्धार र धुलाम्य सडकहरुको तत्काल मर्मत संहार र स्तरउन्नति गर्न आवश्यक भएकोले बजेट माग गरिएको छ।

कामपाले स्थानीय विकास मन्त्रालयलाई सबै वडाको १ सय ७२ वटा सडकको विवरण तयार गरी पत्राचार गरेको छ। भौतिक र स्थानीय विकास मन्त्रालयलाई छुट्टाछुट्टै सडकको विवरण पठाएको पौडेलले बताउनुभयो। कामपाले स्थानीय विकास मन्त्रालयलाई ६० किमि सडक तत्काल मर्मत गर्नुपर्ने उल्लेख गरी पत्राचार गरेको छ। तीमध्ये कामपा ४ स्थित सबैभन्दा लामो बालुवारटार चोकदेखि नारायणगोपाल चोकसम्म १५ सय मिटर सोही वडाको लाम्टाङ्गी मार्गको १४ सय मिटर १५ वडाको बाहिटी मार्गको १ हजार १ सय मिटरलगायतका सडक मर्मत गर्न पत्राचार गरेको कामपाले जनाएको छ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS