काठमाडौँ, चैत २३ – सेना समायोजन विशेष समितिको आजको बैठकले समायोजन रोज्ने लडाकुलाई चैत ३० गतेभित्र नेपाली सेनाको जिम्मा लगाउने, लडाकुको हतियार नेपाल सरकार मातहत ल्याउने र स्वेच्छिक अवकाश रोज्नेलाई घर पठाउने निर्णय गरेको छ। समायोजन या अवकाश रोज्ने माओवादी लडाकुको पुनःवर्गीकरणका लागि समितिको सचिवालयले चैत २४ गतेभित्र टोली पठाउनेछ।
टोलीले माओवादी सेनाका लडाकुहरुलाई स्वेच्छिक अवकाश वा समायोजन रोज्ने विकल्प दिने नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए। बुधवारको बैठकमा समायोजनपछि बन्ने महानिर्देशनालयको संरचना, छनौट समिति, लडाकुलाई दिइने तालिम र पदबारे भने सहमती हुन नसकेपनि सो विषयमा यहि चैत २६ गते बैठक बसेर निर्णय गर्ने सहमति भएको एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए।
नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले सातबुँदे सम्झौताअनुरुपनै सेना समायोजन हुने भन्दै प्रक्रिया पूरा हुँदासम्म अन्दाजी पाँच हजारसम्म लडाकुको मात्रै समायोजन हुनसक्ने बताए। विशेष समिति सदस्य भीम रावलले माओवादी सेनाका लडाकुहरुलाई सातवटा केन्द्रमा तालिम दिने कार्ययोजना पनि आजको बैठकले पारित गरेको बताए।
विशेष समिति सदस्य एवम् माओवादी स्थायी समिति सदस्य वर्षमान पुनले समितिको सचिवालयका कर्मचारी चैत २४ गते शिविर जाने र २६ गते विशेष समितिको बैठक बसी सबै प्रक्रिया टुङ्गो लागेपछि २७ गतेदेखि माओवादी लडाकुको पुनःवर्गीकरण सुरु गरिने बताए। बैठकमा आमन्त्रित सदस्यकारुपमा माओवादी अध्यक्ष दाहाल, एमालेका नेपाल र कांग्रेसका कृष्ण सिटौलाको उपस्थिति थियो। बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने तथा बेपत्ता छानविन आयोग गठन गर्ने निर्णय गरेको छ।
0 : बिचार र सुझाबहरु:
Post a Comment