असार १, काठमाण्डेोँ । प्रवेशिका परीक्षामा फेल भएर आत्महत्या गर्ने किशोरीको संख्या सात पुगेको छ । बुधबार प्रकाशन भएको परीक्षाफलमा उत्तिर्ण हुन नसकेपछि यी किशोरीहरुले आत्महत्या गरेका हुन् ।
काठमाडौं उपत्यकामा दुई र उपत्यका बाहिर पाँच किशोरीले आत्महत्या गरेका छन् । पाँच किशोरीले झुन्डिएर, दुईले विष सेवन गरेर आत्महत्या गरेका छन् । कीर्तिपुर नरेफाँटका निरुता कार्कीले विहिबार कोठमा झुन्डिएर आत्महत्या गरेकी छिन् । यस्तै एसएलसी परिक्षामा असफल भएपछि थानकोट महादेवस्थान गाविसका रुविना केसी र सबला बानियाँले बुधबार राती विष सेवन गरेका थिए । विष सेवन पछि अस्पताल पुर्याएका यी दुई मध्ये रुविनाको भने विहिबार मृत्यु भएको छ भने सबलाको समाज अस्पतालमा उपचार भइरहेको छ ।
बिहिबार नै धादिङ ज्यारुङकी १७ बर्षीया रेश्मा कँडेल एसएलसीमा असफल भएपछि धुरिबलोमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । नेपालगञ्जकी प्रतीक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले पनि प्रवेशिका परिक्षामा असफल भएपछि झुण्डिएर आत्महत्या गरेका छन् । विराटनगरकी मधु देवानले पनि असफल भएपछि विष सेवन गरी आत्महत्या गरेका छन् ।
यसरी परिक्षामा असफल भएपछि गरिएको आत्महत्याले शिक्षा प्रणाली र सामाजिक मानसिकतामा पुनरावलोकन गर्नुपर्ने मनोवैज्ञानिक बताउँछन् । मनोबैज्ञानिकहरुका अनुसार पुरुषको तुलनामा महिला धेरै इमोसनल हुने हुदाँ यस्ता दुर्घटनाहरु हुने गर्छन् । त्यसमा पनि छोराको तुलनामा छोरीलाई परिवारले बढी दबाब दिनाले पनि यस्ता घटनाहरु भइरहेको बताउँछन् ।
0 : बिचार र सुझाबहरु:
Post a Comment