Home » » अध्यक्षमा वैद्य चयन, महाधिवेशन पुसमा

अध्यक्षमा वैद्य चयन, महाधिवेशन पुसमा

Written By Admins on Thursday, June 28, 2012 | 12:49 AM

काठमाडौं, असार १४- नवगठित नेकपा-माओवादीको सोमवारदेखि जारी केन्द्रीय समिति बैठक मोहन वैद्यलाई अध्यक्ष बनाउने निर्णय गर्दै टुंगिएको छ। बैठकले सिपी गजुरेललाई उपाध्यक्ष, रामबहादुर थापालाई महासचिव, नेत्रविक्रम चन्द र देव गुरुङ सचिव र पम्फा भुसाललाई प्रवक्ता बनाउने निर्णय गरेको छ। केन्द्रीय समितिले पुसको पहिलो हप्ता महाधिवेशन गर्ने निर्णय समेत गरेको छ। यसअघि फागुन १ गते महाधिवेशन गर्ने तयारी गरेकोमा बैठकले पुसको पहिलो हप्ता महाधिवेशन गर्ने र त्यसका लागि सदस्यता वितरण, नवीकरण गर्नेलगायतका तयारी पूरा गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

पोलिटब्युरो सदस्यको नेतृत्वमा आठवटा ब्युरो गठन गर्ने, राज्य समितिमा ३२ जना केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ। केन्द्रीय समिति बैठकका निर्णयहरु र राष्ट्रिय भेलाका निर्णयहरुलाई साउन १५ गतेसम्म जिल्ला, इकाइ, मोर्चा, जनवर्गीय सङ्गठनसम्म पुर्‍याउने निर्णय गरेको छ। बैठकले असार २ देखि ४ गतेसम्म काठमाडौँमा भएको राष्ट्रिय भेला उत्साहवर्द्धक भएको निश्कर्ष निकालेको छ। राष्ट्रिय स्वाधीनता र जनजीविकाका समस्याहरुलाई लिएर बामपन्थी, देशभक्त शक्तिहरुको केन्द्रदेखि जिल्लासम्म मोर्चा बनाई आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्णय गरिएको प्रवक्ता भुसालले बताइन्।

गोलमेच सभाका लागि दबाब दिने र गोलमेच सभा गरी देशको राजनीतिक समस्याको समाधान निकाल्नुपर्ने ठहर बैठकले गरेको छ। पोलिटब्युरो बैठकबाट स्वीकृत समसामयिक राजनीतिक, साङ्गठनिक र सङ्घर्षका कार्यक्रमसम्बन्धी प्रस्तावमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखपछि त्यसलाई परिमार्जनसहित पास गरिएको हो। त्यस्तै अन्तरिम सरकार निर्माण गरी गोलमेच सभाबाट निकास निकाल्नुपर्ने, जनयुद्धको जगमा जनविद्रोहको तयारी गर्नुपर्ने, केन्द्रीय समिति तत्कालै विस्तार नगर्ने निर्णय बैठकले गरेको छ। (नागरिक)

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS