Home » » बंगलादेशको बाढीमा सय भन्दा बढ़ीको मृत्यु

बंगलादेशको बाढीमा सय भन्दा बढ़ीको मृत्यु

Written By Admins on Thursday, June 28, 2012 | 8:17 AM

चटगाँउ  (बङ्गलादेश), १४ असार । बङ्गलादेशमा सुरु भएको मनसुनी वर्षाबाट व्यापक मात्रामा क्षति भएको छ । सो वर्षासँगै आएको बाढीमा परी मृत्युहुने नागरिकको सङ्ख्या एक सय नाघेको समाचारमा जनाइइएको छ ।
भारी वर्षाको क्रम तीन दिनदेखि जारी नै रहेकोले सो बाढीमा परी बिहीबार बिहानसम्ममा एकसय जनाभन्दा बढी व्यक्तिको ज्यान गएको समाचार त्यहाँका सुरक्षा अधिकारीहरुले दिएका छन् । 


बङ्गलादेशको दक्षिण पश्चिमी क्षेत्र चटगाँउमा यस्तो विनाशक बाढी आएको हो । यसका साथै अरु केही छिमेकी गाउँहरुमा पनि बाढीको प्रकोप देखिएको बताइएको छ । सो क्षेत्रका विभिन्न स्थानमा भीषण पहिरो गएको र त्यसमा परी कयौं नागरिक हराइरहेका छन् ।

बाढीमा परी अरुपनि केही व्यक्ति हराइरहेका छन तर उनीहरुका बारेमा थप जानकारी प्राप्त हुन सकिरहेको छैन । उद्वारको कार्य जारी रहेको बताइएको छ । सो बाढीका कारण आवश्यक भौतिक संरचनामा पनि क्षति पुगेको बताइएको छ । यसले बाढी प्रभावित कतिपय स्थानहरुका सरकारी कार्यालयहरु सञ्चालनमा पनि बाधा उत्पन्न भएको बताइएको छ ।

सरकारले सो बाढी र पहिरोमा परेकाहरुको उद्वारका लागि सेना र प्रहरी खटाएको छ । उनीहरुले आफ्नो कामलाई निरन्तरता दिएको भए पनि भारी वर्षा र बाढीका कारण उद्वारको कार्य प्रभावकारी हुन सकिरहेको छैन । चटगाँउ क्षेत्रका प्रमुख प्रशासक सिराजुल हक खानका अनुसार सो जिल्लाको कोक्स बजारमा गएको पहिरोमा परी मृत्यु भएका ४० जनाको शव प्राप्त भएको छ । सो क्षेत्रमा अरुपनि कयौं नागरिक हराइरहेकाले खोजी कार्य जारी नै रहेको छ ।

उहाँले चटगाउँको वरपर, कोक्स बजार तथा बन्दरबनमा निरन्तर परेको पानीका कारण बढेको बाढी तथा गएका पहिरोका कारण बुधबार राति अबेरसम्म नै कम्तीमा पनि ९४ व्यक्तिको मृत्यु भएको उल्लेख गर्नुभयो । बन्दरबनका प्रशासक तारिकुल इस्लामले पहिरोमा पुरिएका एक सय दुई जना व्यक्तिको शव प्राप्त भएको उल्लेख गर्नुभयो । उहाँले यसरी मरेकामा १० बालबालिका परेको र बीसौँ व्यक्ति घाइते भएको बताउनुभयो । 

हराइरहेका व्यक्तिको पनि खोजी भइरहेको बताइएको छ । बन्दरबनका प्रहरी प्रमुख साइफुल अहमदले पहिरोले घरमा सुतिरहेको व्यक्तिहरूलाई बगाएको थियो । यो पहिरोमा परी एक परिवारले आफ्ना १२ जना सदस्य गुमाएको उल्लेख गर्नुभयो ।

एकजना उद्वारकर्मी अहमदले दिएको जानकारीअनुसार भारी वर्षाका कारण आएको बाढीका कारण उद्वारको कार्य प्रभावकारी हुन सकिरहेको छैन । उनका अनुसार बिहीबार बिहानसम्म पनि बाढी रोकिएको छैन ।     चटगाँउमा रहेको साह अमानत अन्तर्राष्ट्रिय विमानस्थल पनि बाढीबाट प्रभावित बनेको छ । सो विमानस्थलबाट हुने उडानहरु पनि प्रभावित भएका छन् । हिजो अपरान्हदेखि नै सो विमानस्थलबाट हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएका छन् ।

करिब पचास लाख जनसङ्ख्याको बसाइ रहेको सो चितापोङ क्षेत्रमा मनसुनी वर्षातका कारण ठूलो क्षति हुने गरेको पाइन्छ । विगतका वर्षहरुमा पनि यसै मनसुनी वर्षामा सयौंको ज्यान गएको थियो । गत वर्षको वर्षात्का समयमा भएको पूर्वाधारको क्षतिका कारण पनि हजाराँैं नागरिक विस्थापित हुनुका साथै विकासका संरचानमा पनि क्षति पु¥याएको थियो । उक्त क्षेत्रका नागरिकले विकासका संरचना निर्माण गरी बाढी पहिरोबाट बचाउने उपायको खोजीका लागि सरकारलाई आग्रह गर्दै आएका छन् । रासस, एएफपी

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS