गोपाल छन्त्याल-
म्याग्दी, १६ साउन । पहिरोको उच्च जोखिममा रहेका भकिम्ली–९ तोराखेतका १९ घरलाई सुरक्षित स्थानमा सारिने भएको छ । भिरालो जमिनका कारण बस्तीभन्दा माथि र तलबाट पहिरो झर्ने क्रम नरोकिंदा स्थानीय रातभर जाग्राम बस्न बाध्य थिए । हरेक बर्षायाममा यस्तै समस्या झेल्दै आएका तोराखेतबासीका समस्याबारे असार २५ गते अन्नपूर्णपोष्ट दैनिकमा फोटो सहित समाचार प्रकाशन भएपछि दैवीप्रकोप उद्धार समितिको रोहबरमा सर्वदलीय वैठकबाट बस्ती सार्ने निर्णय गरिएको हो ।
निरन्तर खस्ने पहिरोका कारण स्थानीय लाल बहादुर विक, टिकाराम विक, पूर्णबहादुर परियार, विष्णु परियार, कृष्ण परियार, गोपाल बहादुर परियार, तिलबहादुर परियार, दिपेन्द्र परियार, डिलबहादुर परियार, धनबहादुर परियार, टिकाराम परियार, दलबहादुर परियार, टेकबहादुर मल्ल, प्रेम बहादुर विक, चन्द्रबहादुर विक र कृष्णबहादुर विकको घर उच्च जोखिममा छ ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले बस्नै नसकिने अवस्था आएपछि मानवीय क्षति रोक्न बस्ती सार्ने निर्णय गरिएको जानकारी दिए । पहिलो चरणमा अस्थायी रुपमा बस्ती बसाल्ने भन्दै उनले त्यसका लागि जग्गाको टुगो लगाउने जिम्मा गाउं विकास समितिलाई दिईएको बताए । ‘त्यहाँ बस्न नहुने सबैको राय आएपछि हामीले यस्तो निर्णय लिएका हौँ । कसरी व्यवस्थापन गर्ने भन्नेबारे अध्ययन गर्न एक टोली प्रभावित क्षेत्रमा जादैछ, प्रजिअ ज्ञवालीले भने, ‘त्यसपछि स्थायी रुपमा बस्ती बसाल्ने तर्फ ध्यान दिन्छौँ ।’
सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालको नेतृत्वमा जिल्लास्थित राजनीतिक दल, रेडक्रस, प्राविधिक र सञ्चारकर्मीको टोली छिट्टै प्रभावित क्षेत्रमा पुगेर ठोस तथ्याङक संकलन गर्ने प्रशासनले जनाएको छ । पहिरो पीडित स्थानीय भीम परियारले सरकारी निर्णयबाट आफुहरुलाई खुशी तुल्याएको बताए । ‘हामी समस्यामा छौँ, बस्ती सार्दा आधारभुत आवश्यकता परिपुर्ति गराउने तर्फ पनि ध्यान दिईनुपर्छ, उनले भने, ‘त्यशो भयो भने हामीलाई सजिलो हुन्छ ।’ खानेपानी, विजुली र सडकको पहुँच भएको खण्डमा अझ आफुहरुलाई अझ सजिलो हुने उनले बताए ।
गाविसका खाली जग्गा नभएको हुँदा केहि समस्या पर्ने बताईएको छ । जिल्ला सदरमुकाम बनीदेखि तीनघण्टाको पैदलदुरीमा पर्ने तोराखेत भकिम्ली र ज्यामरुकोट गाविसको सीमानामा अवस्थित दलित बस्ती हो । गाविस सचिब बुद्धिप्रसाद शर्माले जग्गाको टुगो लगाउन आगामी २० गते गाविस संयन्त्रको वैठक राखिएको जानकारी दिए । ‘जग्गाका लागि ज्यामरुकोट गाविसका पदाधिकारीसंग पनि छलफल गर्ने तयारी गरेका छौँ, वैठकपछि ठोस निस्कर्ष निकाल्नेछौँ, उनले भने ।
0 : बिचार र सुझाबहरु:
Post a Comment