Home » , , , , » ‘दुई श्रीमतीको पोइ बीस वर्षसम्म खोइ ?’

‘दुई श्रीमतीको पोइ बीस वर्षसम्म खोइ ?’

Written By Admins on Monday, May 20, 2013 | 6:42 AM

६ जेठ, क्वालालम्पुर ।  सन् १९९३ सालतिर नेपालबाट विदेश काम गर्न जाने चलन खासै थिएन । त्यसबेला विदेश जानेहरुको छुट्टै मान र सान हुन्थ्यो । विदेश गएकाहरु काँधमाथि रेडियो घन्काउँदै भरिया लिएर फर्किंदा गाउँकै रौनक फेरिन्थ्यो । गाउँमा रेडियो, क्यासेट उनैका घरमा हुन्थे । बिजुली नभए पनि बेट्रीबाटै क्यासेट घन्काएर सिंगै गाउँ थर्काउँथे उनीहरु । पाँचथरको सराङडाँडा-७ निगालेमा जन्मेका ५७ वर्षीय लछीहाङ शेर्मा (लिम्बू) पनि त्यही समय मलेसिया छिरेका हुन् ।गाउँका अलि टाठाबाठामै पर्थे लछीहाङ । नाच्न गाउन भनेपछि निक्कै खप्पिस । गाउँमा धान नाचेरै उनले कान्छी श्रीमतीसमेत भित्र्याए । जेठीबाट एक छोरा र एक छोरी, कान्छीबाट तीन छोरा र एक छोरीको जन्म भएपछि उनलाई ९ जनाको परिवार पाल्न धौधौ भयो ।

विदेशबाट लाहुरेहरु गाउँमा आएको देखेपछि लछीहाङले पनि विदेश जाने योजना बनाए । जेठी श्रीमतीलाई घरमा राखेर कान्छीलाई पाचँथरको सदरमुकाममा सामान्य भट्टी खोलिदिएर उनी मेनपावर कार्यालय धाउन थाले । त्यतिबेला मेनपावर कम्पनीहरु आजकोजस्तो वर्षामा च्याउ उमि्रएको जस्तो भेटिँदेनथे । जेनतेन एकजना एजेण्ट भेटाए लछीरामले । त्यसपछि उनी साउदी जाने तरखर गर्न थाले ।

नगद ८० हजार दिने भए पठाउँछु, नत्र सक्दिँन भनेर ऐजेन्टले जिद्दी गरेपछि खोजखाज गरेर ८० हजार बुझाएरै लछीराम साउदी जान तयार भए । त्यसपछि उनी दुबै श्रीमतीलाई सम्झाएर घर व्यवहार मिलेर चलाउनु भन्दै पैसा कमाउन साउदीतिर लागे ।तर, बिचरा लछीरामलाई एजेण्टले उनलाई साउदी नलगी थाइलैण्डमा पुर्याएर छाडिदियो । एजेन्टले जाने भए मलेसिया जाउ, नत्र भने म केही गर्न सक्दिँन भनेपछि उनी एक दिन एक रात पानीजहाजमा बसेर मलेसिया पुगे ।

लछीरामले ठ्याए मलेसियाको टावर

लखरतरान भएको ज्यानलाई मलेसियाको इपोमा पुर्याएर काममा लगाइदिएपछि एजेण्ट कहाँ गयो, थाहा भएन । इपोमा उनले दुई महिनाजति काम गरे । त्यतिवेला उनले १२ घण्टा काम गरे वापत ७ रिंगेट पाउँथे । इपो पुगेको दुई महिनापछि उनी क्वालालाम्पुरतिर लागे । उनका अनुसार त्यतिबेला क्वालाम्पुरमा अहिलेको केएलसीसी टावर बन्ने सुरसार भर्खर हुँदै थियो । उनले त्यसको जग हाल्ने बेलामा करीब ६ महिना जति काम गरे । तर, त्यो काम पनि ठीक नलागेपछि उनी बातुकेभतिर हान्निए । तर, एक वर्ष बातुकेभमा काम गर्दा उनले एक पैसा पनि पाएनन् । उल्टै पैसा माग्दा उनलाई थर्काएर पुलिस लागाइदिने धम्की दिइयो । त्यसपछि लछीरामलाई त्यो ठाउँ छाडेर मलक्का, केएल, जोहोर पेनाङ, मुहार, मलक्का बातुपहात, या भनौं मलेसियाका विभिन्न ठाउँहरु चाहार्दा चाहार्दै २० वर्ष बितेको पत्तै भएन ।

 भेटिँदैनथे मलेसियामा नेपाली


 लछीरामका अनुसार त्यतिबेला मलेसियामा आजजस्तो छ्यापछ्यापी नेपालीहरु थिएनन् । नेपाली भेट हुँदा गाउँमै भेटेको जस्तो हुन्थ्यो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जो भेटिए पनि बेलीविस्तार हुन्थ्यो । लछीरामले मलेसिया छिरेको तीन वर्षपछि मात्रै एक/दुईजना नेपाली भेटाएका थिए । आजको जस्तो त्योबेलामा न कुनै नेपाली पत्रपत्रिका नै हेर्न पाइन्थ्यो । दुतावास खुलेकै थिएन । घरमा फोन गर्न मोबाइल पनि थिएन । सामान्य कामदारका लागि त्यो पहुँच थिएन । उनलाई बेलाबेलामा प्रहरीले पनि समायो तर मले भाषा जानेको र अनुहार पनि मले र चाइनिजकै जस्तो भएका कारण उनलाई उम्किन कुनै अप्ठेरो भएन ।

पत्राचार भयो, कमाइ भएन

 घरबाट हिँडेको केही वर्षसम्म उनले चिठीपत्र आदान-प्रदान गर्ने गरेका थिए । तर, परिवारले बारम्बार पैसा माग्ने तर उनीसँग सुको दाम नहुने भएपछि उनले घर परिवारलाई सम्पर्क नै गर्न छाडिदिए । जति काम गरे पनि उनले पैसा बचाउन सकेनन् । मलेसियाको २० वर्षे बसाइमा करीव पाँच वर्ष त काम गरेको ठाउँबाट पैसा नै पाएनन् उनले ।दुईवटा श्रीमती र ६ जना छोराछोरी बाबु लछीहाङलाई घर परिवारको याद नआउने पनि होइन । तर, याद आएर मात्रै के गर्नु घर र्फकनु पनि कसरी ? जे सपना साँचेर आएका थिए, त्यो सपना थोरै मात्रामा पनि पूरा नभएपछि उनलाई घर र्फकनै मन लागेको छैन । लछिरामको हिसाबमा उनले मलेसियाको २० वर्षे बसाइमा जेनतेन पाँच लाख रुपैयाजति घर परिवारलाई पठाएका छन् ।

 मलेसियै पुगिन् कान्छी

नेपालमा सँगै बाँच्ने र सँगै मर्ने बाचा कसम खाएर विवाह गरेका दुई श्रीमतीहरु बूढी भैसकेका छन् । आफ्ना श्रीमान मलेसियामा छन् भन्ने थाहा पाएका दुबै श्रीमती र छोराछोरीहरुले बाबा कहिले आउलान् भनेर प्रतिक्षा गरिरहेका छन् । तर, लछिहाङको विदेशबाट र्फकने कुनै टुंगो छैन । आफ्ना बुढा नर्फकने जस्तो ठानेपछि उनलाई लिनकै लागि भनेर केही समय अगाडिमात्रै कान्छी श्रीमती शोभाहाङ शेर्मा मलेसिया समेत पुगिन् । साथीभाइ र इष्टमित्रको सहयोगले उनीहरुवीचमा भेट भयो । जवानीमै छुट्टएिका उनीहरु २० वर्षपछि भेट हुँदा पहिला त एकछिन अलमलिए । जब उनीहरुले जवानीको सम्झना गरे, त्यसपछि खुसीका आँसु चुहिए ।

पैसा नकमाए पनि श्रीमानलाई देख्न र भेट्न पाउन शोभाहाङ खुशी भइन् । लछिहाङ पनि रमाए । अहिले मलेसियामा शोभाहाङ आफ्ना श्रीमान्को निकै स्याहार सुसारगरिरहेकी छन् । खानपिनको पनि उत्तिकै ख्याल गर्छिन् । दुबैजना यतिबेला वातुपहातमा रहेको ‘हाम्रो रेष्टुरेन्ट’मा बसेर खुशी साटासाट गरिरहेका छन् । फुर्सद हुनासाथ दुबैजना बाहिर घुम्न निस्कने गरेका छन् । तर, शोभाहाङलाई आफूले पाएको यो खुशी छोराछोरी र घरपरिवारसँग साट्ने तीव्र इच्छा छ । आउने दशैंमा नेपाल र्फकने तयारी गरिरहेका उनीहरुले घर लैजाने सामान किन्न थालिसकेका छन् ।

 परिवार छताछुल्ल

उता नेपालमा २० वर्षपहिले अलपत्र छाडिएका लछिहाङका छोराछोरीहरु कोही विदेशमा छन भने कोही नेपालमै बसेर पढिरहेका छन् । विदेशमा लामो समय बस्दा धेरै चिज गुमाएकोमा लछिरामलाई अहिले पछुतो छ । बरु नेपालमै केही गरेको भए उन्नति हुन्थ्यो जस्तो उनलाई लागेको छ । तर, कान्छी श्रीमतीलाई भेटेपछि यतिबेला भने लछीहाङको अनुहारमा निकै खुसी छाएको छ । ‘अब त घरै जाने हो, कान्छी नै लिन आइन् अब किन नजाने ! ‘ ठट्यौली पारामा उनले आफैं थपे- ‘दुई स्वास्नीको पोइ, बीस वर्षसम्म खै भन्न थालिसकेहोला घरका मान्छेले ।’

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS