Home » » एकीकृत माओवादीमा पदको लफडा

एकीकृत माओवादीमा पदको लफडा

Written By Unknown on Thursday, June 27, 2013 | 9:04 PM

१४ असार, काठमाण्डौं ।  एकीकृत माओवादीमा मतदान प्रक्रियाबाट पदाधिकारीलगायत जिम्मेवारी बाँडफाँट गर्न दबाब बढेको छ। पार्टीका ब्युरोप्रमुखहरूले केन्द्रीय कार्यालयलाई पदाधिकारीसहित जिम्मेवारी बाँडफाँटमा सहमति हुने अवस्था नभए मतदान प्रक्रियाबाट टुंगो लगाउन सुझाव दिएका छन्। बिहीबार ब्युरोप्रमुखहरूले थप पदाधिकारी, सांगठनिक जिम्मेवारी बाँडफाँटमा सहमति नजुटे केन्द्रीय समितिमा मतदान प्रक्रियामा जान सुझाए।

पुराना, नवप्रवेशी र मधेसीलाई जिम्मेवारी बाँडफाँट गर्ने तयारी भए पनि सहमति नजुट्दा पदाधिकारी विस्तार अनिर्णीत छ। पदाधिकारी चयनमा सहमति जुटाउने पाँच महिना लामो प्रयास असफल भएपछि केन्द्रीय कार्यालयलाई ब्युरोप्रमुखहरूले दिएका हुन्। प्रमुखहरुको सुझावलाई नेतृत्वले विकल्प सोच्न सक्ने आश्वासन दिएका छन्।

'पदाधिकारीमा सहमति नजुटे मतदान प्रक्रियाबाट टुंग्याउने अन्तिम विकल्प अघि सारिएको छ,' जनवर्गीय संगठन विभागप्रमुख जनार्दन शर्माले नागरिकसँग भने, 'पदाधिकारीका नामलगायत सहमति नजुटे मतदान प्रक्रियाबाट टुंगो लगाउन सुझाव नेतृत्वलाई दिएका छौं। नेताहरु सकारात्मक देखिएका छन्।'
पदाधिकारीबाट प्रस्तावित जिम्मेवारी बाँडफाँटसहितको नामावली शुक्रबार केन्द्रीय समिति बैठकमा छलफलका लागि लगिनेछ। बिहीबार बैठक बस्नुअघि पाँच घन्टा लामो पदाधिकारी बैठकले निर्णय लिन सकेन। 'बिहान ११ बजेदेखि पदाधिकारी बैठक बस्यो, ब्युरो प्रमुख र अन्य वरिष्ठ नेतासँग आलोपालो छलफल भएको हो। 'सहमतिनजिक पुगेका छौं टुंगिएको छैन,' नेता अग्नि सापकोटाले भने।

पदाधिकारी चयनबारे पार्टीभित्र तीनवटा विकल्पमा छलफल जारी छ। संविधानसभा निर्वाचनअघि पदाधिकारी यथावत राख्ने, महासचिव पोष्टबहादुर बोगटीलाई उपाध्यक्षमा बढुवा गरी सो स्थानमा कृष्णबहादुर महरा वा वर्षमान पुनमध्ये एकलाई ल्याउने विषयमा छलफल जारी छ। महाधिवेशनले चयन गरेका पदाधिकारी यथावत राखी महरा, पुन, गिरिराजमणि पोखरेल, टोपवहादुर रायमाझी र कोषाध्यक्षमा हिसिला यमीलाई ल्याउनेे तेस्रो विकल्पमा पनि छलफल जारी छ।

'मुख्य बिबाद महासचिवमा देखिएको छ,' एक नेताले भने, 'महराजी र अनन्त (पुन) मध्ये कसलाई महासचिब बनाउने भन्ने मुख्य मुद्दाले सबै सांगठनिक संरचना विस्तार र जिम्मेवारी बाँडफाँटमा प्रत्यक्ष प्रभाव परेको छ।' 'उपाध्यक्षको जिम्मेवारी लिएर अनन्तजीलाई महासचिव स्विकार्न महराजी पछिल्लो समयमा सहमत हुनुहुन्छ। बोगटी र रायमाझीले मान्ने कुरा हुँदैन,' ती नेताले भने। महरालाई महासचिव स्वीकार गर्न उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले आनाकानी गर्दा महराले महासचिवको अडान त्यागेको स्रोतले बतायो।

पदाधिकारी चयनमा विवाद नमिले पनि माओवादी केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुने अध्यक्ष दाहालले बैठकमा जानकारी गराएका छन्। '२ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्माण हुने भएको छ। जसमा १ सय ५१ सदस्यीय पूर्ण र १ सय ४८ वैकल्पिक सदस्यका रुपमा रहनेछन्,' केन्द्रीय सदस्य रामकुमार शर्माले।
पूर्ण केन्द्रीय सदस्यको एक तिहाइबराबर पोलिटब्युरो (५१) र त्यसको एक तिहाइ (१७) को स्थायी समिति सदस्य रहने गरी संरचना बनाउने पार्टीले तयारी गरेको छ। सापकोटाका अनुसार वैकल्पिक केन्द्रीय सदस्यजस्तै स्थायी, पोलिटब्युरोमा समेत वैकल्पिक सदस्यको व्यवस्था गरिने भएको छ।

'स्थायी र पोलिटब्युरोमा पनि आवश्यकताअनुसार वैकल्पिक सदस्यको व्यवस्था गरिनेछ,' सापकोटाले भने। शुक्रबार बिहान पदाधिकारी बैठक बसेर सांगठानिक प्रस्ताव केन्द्रीय समितिमा पेस गर्ने तयारी भएको उनले बताए।


- नागरिक

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS